हरेरी पुजा

देउखुरीको थारू समुदायमा हरेरी पूजा

हरेरी पूजा देउखुरीका थारू समुदायको पुरानो कृषि तथा प्रकृतिसँग सम्बन्धित मौलिक संस्कार हो। सामान्यतः धान रोपाइँ तथा वर्षायामको खेतीपातीको मुख्य काम सकिएपछि साउन वा भदौ महिनामा गाउँलेहरू मिलेर यो पूजा गर्छन्। यसको मुख्य उद्देश्य धानबालीमा रोग–कीरा नलागोस्, बाली हरियो भएर सप्रियोस्, राम्रो उत्पादन होस्, गाउँमा रोगव्याधि तथा अनिष्ट नआओस् भन्ने कामना गर्नु हो।

हरेरी पूजा गाउँको  मरुवामा गरिन्छ। गाउँका प्रत्येक घरबाट पूजा सामग्री जम्मा गरिन्छ र गुरुवा/धामी तथा केसौकाको अगुवाइमा देवी–देवताको पूजा गरिन्छ। स्थानीय परम्पराअनुसार माटोका दियो, माटोको घोडा, सिन्दूर, अक्षता, जल, गोबरबाट बनाइएको गुइँठा, गन्यारीको आगो, फूल, चामल, दाल, तरकारी तथा अन्य स्थानीय सामग्री प्रयोग गरिन्छ। कतिपय देउखुरीका गाउँमा गाउँको मादलसमेत पूजा गर्ने चलन रहेको उल्लेख छ।

पूजाको विशेष पक्षमध्ये गुइँठाको आगोमा गुरुवाको हाम्फाल्ने, मन्त्र उच्चारण गर्ने तथा देवताको शक्ति परीक्षण गर्ने ( सुसवाउने)परम्परा पनि पाइन्छ। आगोले नछोए शुभ संकेत मानिन्छ। भोलिपल्ट ‘खरिभन’ अर्थात् दूध र आगोसँग सम्बन्धित पूजित सामग्री खेतको पानीमा मिसाउने चलन पनि रहेको पाइन्छ, जसले बालीलाई रोग–कीराबाट जोगाई खेती सप्रिने जनविश्वास छ ।
हरेरी पूजा सम्पन्न भएपछि मादल बजाउने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन हुन्छ। यस अर्थमा हरेरी पूजा केवल पूजा मात्र नभई थारूहरूको कृषि ज्ञान, प्रकृतिप्रतिको सम्मान, सामूहिक एकता र मौलिक सांस्कृतिक पहिचानको पर्व हो। नयाँ पुस्ताले यसको विधि, अर्थ र सांस्कृतिक मूल्य बुझेर संरक्षण गर्नु अत्यन्त आवश्यक छ।

नोट: हरेरी पूजाको विधि देउखुरीकै गाउँ–गाउँमा पनि केही फरक हुन सक्छ। त्यसैले यसलाई एउटै निश्चित विधि नभई स्थानीय थारू गाउँको परम्पराअनुसार परिवर्तन हुने संस्कारका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ।
स्रोत:- लावा डग्गर ।

Comments